वेसिशहरमा सञ्चालनमा रहेको ३२ औं त्रिवेणी कपको उपाधी सशस्त्र प्रहरीको एपीएफ फुटवल क्लवले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा एपीएफले बुद्ध युवा क्लव (बीवाईसी) भोटेओडारलाई ट्राइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरि उपाधी चुमेको हो ।
खेलको पहिलो हाफको १२ मिनेटमा बीवाईसी भोटेओडारका समीर तामाङले गोल गरेकोमा पहिलो हाफको ३० मिनेटमा एपीएफका युवराज खड्काले गोल फर्काएर बराबर बनाए । दोस्रो हाफको ६ मिनेटमा एपीएफका कप्तान हरि कार्कीले गोल गरेकोमा ८ मिनेटको इन्जुरी टाइमको ३ मिनेटमा बीवाईसीका समीरराज ठकुरीले गोल गरेपछि खेल पुनः बराबरीमा पुग्यो ।
खेलमा ८–८ मिनेट समय थप गरेकोमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेक
रमा पुगेको थियो । टाइब्रेकरमा एपीएफले बीवाईसीलाई हराउँदै यसवर्षको त्रिवेणी कप फुवटल प्रतियोगिताको उपाधी चुमेको हो ।
विजेता एपीएफले १२ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बुद्ध युवा क्लव (बीवाईसी) भोटेओडारले ६ लाख रुपैयाँ र मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसै गरि प्रतियोगितामा ६ गोल गरेका एपीएफका प्रदीप लामा सर्वाधिक गोलकर्ता घोषित भए । उनले नगद २५ हजार रुपैयाँ र ट्रफी पाए ।
खेल अवधिभर एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दि म्याच भए । उनले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी बीवाईसी भोटेओडारका इम्यानुअल बने । उनले पनि २५ हजार रुपैयाँ र ट्रफी पाए ।
विजेता टीम र खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य टीकाकुमारी बस्याल, मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
१६ टीम सहभागीता रहेको ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी तथा फुटबल क्लवहरुको सहभागीता रहेको थियो ।